धारा 371 एफका विशेषाधिकारहरूलाई सदैव कायम राख्न भाजपा सरकार प्रतिबद्धता: डीबी चौहान
धारा 371 एफका विशेषाधिकारहरूलाई सदैव कायम राख्न भाजपा सरकार प्रतिबद्धता: डीबी चौहान
सिक्किम

धारा 371 एफका विशेषाधिकारहरूलाई सदैव कायम राख्न भाजपा सरकार प्रतिबद्धता: डीबी चौहान

news

गान्तोक, 14 अगस्त (हिस)। राष्ट्रको 74औं स्वतन्त्रता दिवसको पुनित अवसरमा भारतीय जनता पार्टी, सिक्किम एकाईको तर्फबाट प्रदेश अध्यक्ष डीबी चौहानले सिक्किमलगायत सम्पूर्ण देशवासीप्रति हार्दिक शुभकामना प्रकट गरेका छन्। आजभन्दा 74 वर्ष अघि देशका महान स्वतन्त्रता सेनानीहरूको अथक परिश्रम अनि बलिदानको फलस्वरूप भारतले 15 अगस्त, 1947 मा अंग्रेजको शासनबाट स्वतन्त्रता प्राप्त गरेको बताउॅंदै प्रदेश अध्यक्ष चौहानले ती महान स्वतन्त्रता सेनानी अनि वीर वीरंगनाहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। यसैगरी, उनले देशको सीमाना अनि आन्तरिक रक्षामा खटिएका सम्पूर्ण सैनिक तथा सुरक्षा बलका योद्धाहरूप्रति नमन गरेका छन्। आज जारी आफ्नो सन्देशमा चौहानले भनेका छन्, स्वतन्त्रताको सात दशकको लामो यात्रा तय गर्ने क्रममा धेरैवटा व्यवस्थाअन्तर्गत आफ्नो विकास यात्रा अघि बढ़ाउन सफल बनेको छ। यसबीच देशले छिमेकी देश पाकिस्तान अनि चीनसँग युद्धको सामना पनि गर्नुपर्यो जसबाट भारतले समयानुकूल ढंगमा अघि बढ्ने अनि देशलाई अझ शक्तिशाली बनाउने प्रेरणा प्राप्त गर्यो। उनले वर्ष 2014 मा देशमा नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकार गठन भएपछि विभिन्न आर्थिक तथा प्रशासनिक सुधारका पहलहरू हुनका साथै आज भारत एउटा नयाँ उचाईमा पुऱ्याउने कार्य भएको बताएका छन्। मोदी सरकारको पहिलो कार्यकालका ऐतिहासिक उपलब्धिहरूको मूल्याङ्कन गर्दै वर्ष 2019-मा सम्पन्न लोकसभा चुनाउमा देशले भारतीय जनता पार्टीलाई अझ ठूलो बहुमतका साथ दोस्रोपटक सत्तामा पुर्याएपछि विगत एक वर्षको अवधिमा ऐतिहासिक एवं साहसिक निर्णयहरू लिएर देशवासीको मन जित्न सफल बनेको पनि उनले सन्देशमा दाबी गरेका छन्। उनले भनेका छन्, जम्मू काश्मीरबाट धारा 370 अनि 35ए-को निरस्तीकरण, तीनतलाकविरोधी कानून, ऐतिहासिक राम मन्दिर मुद्दाको छिनोफानो अनि राम मन्दिर निर्माणको शुरूवात, नागरिकता संशोधन अधिनियम, ऐतिहासिक बोडो सम्झौता, आयुषमान भारत योजना, किशान सम्मान निधि योजना आदि ऐतिहासिक फसेला गरेको छ। यसरी देशका सबै राज्य, सबै सम्प्रदायलाई साथमा लिएर मोदी सरकारले आफ्नो नारा सबैको साथ, सबैको विश्वास अनि सबैको विश्वासलाई कायम राख्दै देशको विकासतर्फ अग्रसर भइरहेको छ। प्रदेश भाजपा अध्यक्ष चौहानले स्वतन्त्रता दिवसको यस पुनित अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहल, भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा लगायत भारतीय जनता पार्टीको नेतृत्वमा रहेको केन्द्र सरकारलाई बधाई एवं शुभकामना दिएका छन्। अर्कोतिर, भारतीय गणराज्यमा सिक्किमको प्रजातान्त्रिक यात्राले पनि 46 वर्षको समय पूरा गरिसकेको उनले बताएका छन्। भारतीय संविधानको धारा 371 एफ अन्तर्गत सिक्किमलाई विशेषाधिकार प्राप्त भएको छ भने यसलाई सदैव कायम राख्न भारतीय जनता पार्टीको सरकार प्रतिबद्धता रहेको उनले विश्वास दिलाएका छन्। अहिले सिक्किम राज्य लगायत सम्पूर्ण विश्व नै कोभिड 19-को चपेटमा आएको छ। यस क्रममा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले समयमै देशव्यापी लकडाउन गरेर कोविडविरूद्धको संघर्षको निम्ति पूर्ण तयारी गरेको कारण आज देशले सफलतापूर्वक यसको सामना गरिरहेको छ। यसबीच देशमा कुनै पनि नागरिक भोको नरहोस् भनेर भारत सरकारले नोभेम्बर महिनासम्मको निम्ति प्रधानमन्त्री गरीब कल्याण योजना अनि आर्थिक पुनरूद्धारको निम्ति 20 लाख करोड़को आत्मनिर्भर भारत प्याकेज घोषणा गरेर सम्पूर्ण देशवासीलाई राहत दिने कार्य गरेको छ। सिक्किम राज्यमा पनि राज्य सरकारले कोरोना महामारीलाई सफलतापूर्वक सामना गरिरहेको छ जसको निम्ति राज्य सरकार, सम्पूर्ण कोरोना योद्धाहरू अनि सम्पूर्ण सिक्किमे जनगण बधाईका पात्र छन्, अध्यक्ष चौहानले भनेका छन्। यस पावन अवसरमा उनले सम्पूर्ण स्वास्थ्यकर्मी, पुलिस बल, आपतकालीन सेवाका कर्मचारीगणलगायत सम्पूर्ण कोरोना योद्धाहरूप्रति नमन गरेका छन्। यसैगरी, उनले 74औं स्वतन्त्रता दिवसको पूर्व संध्यामा भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईको तर्फबाट सिक्किम सरकार, सम्पूर्ण कर्मचारीगण, विद्यार्थीगण, कृषकगण, पत्रकार बन्धुलगायत सम्पूर्ण सिक्किमेली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन्। हिन्दुस्थान समाचार/बिशाल-hindusthansamachar.in

AD
AD